विदेशमा काम गर्न जानका लागि कुनै पनि नेपाली नागरिकलाई सरकारले प्रदान गर्ने स्वीकृती नै श्रमस्वीकृती हो । श्रमस्वीकृती नलिई वैदेशिक रोजगारमा गएमा त्यस्तो कार्य गैरकानूनी हुन्छ र यसरी वैदेशिक रोजगारमा गएमा वैदेशिक रोजगार ऐन तथा नियमावलीले कामदार तथा तिनका परवार समेतका लागि व्यवस्था गरेका सम्पूर्ण सेवासुविधाहरुबाट बञ्चित हुनुपर्ने हुन्छ ।
वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम वैदेशिक रोजगार विभागले श्रमस्वीकृती प्रदान गर्ने भएकाले वैदेशिक रोजगार विभाग वा विभाग मातहतको श्रमस्वीकृती जारी गर्ने निकायबाट श्रम स्वीकृति लिनुपर्दछ।
वैदेशिक रोजगारमा संस्थागत प्रकृया वा व्यक्तिगत प्रकृयाबाट जान सकिने कानूनी प्रावधान रहेको छ । संस्थागत प्रकृयाको अवलम्बन गरी वैदेशिक रोजगारीमा जाने भए सम्बन्धित इजाजतपत्र प्राप्त म्यानपावर संस्थाले नै आवश्यक प्रकृया अघि बढाउँदछ । त्यसैगरी व्यक्तिगत प्रकृयाबाट वैदेशिक रोजगारीमा जानुपर्दा निम्न बमोजिमका कागजातहरु सहित व्यक्ति स्वयम् उपस्थित भई वा Online विधिबाट वैदेशिक रोजगार विभाग वा विभाग मातहतको श्रमस्वीकृती जारी गर्ने निकायमा श्रमस्वीकृतीका लागि निवेदन दिनुपर्दछ:-
- रोजगारका लागि जान चाहेको मुलुक,
- विदेशमा गर्नुपर्ने कामको प्रकृति,
- रोजगारदाता संस्थाले दिएको स्वीकृतीपत्र,
- रोजगारका शर्त तथा सुविधा स्पष्ट उल्लेख भएको सम्झौतापत्र,
- अभिमुखिकरण तालिम प्राप्त गरेको प्रमाणपत्र,
- निरोगिताको प्रमाणपत्र (मेडिकल),
- विमा गरेको प्रमाण,
- वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण, आदि।
वैदेशिक रोजगारमा जानु अधि कामदारको करार अवधि तीन वर्षसम्मको भएमा रु.१,५०० र तीन वर्षभन्दा बढीको करार अवधि भएमा रु.२,५०० वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्दछ ।
Tahachal, Kathmandu, Nepal
Something went wrong.