कुनै नेपाली कामदारको विदेशमा मृत्यु भएमा त्यस्तो मृतक कामदारको शव सम्बन्धित मुलुक स्थित नेपाली राजदुतावास मार्फत नेपाल झिकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निजको घरठेगाना भएको नजिकको सडक विन्दुसम्म वैदेशिक रोजगार बोर्डले निःशुल्क ढुवानी गर्ने व्यवस्था मिलाएको छ । यसका लागि मृतक कामदारका नेपालस्थित कुनै आफन्तले आफ्नो स्पष्ट परिचय खुल्ने विवरण संलग्न राखी बोर्डको सचिवालयमा निवेदन दिनुपर्छ ।
वैदेशिक रोजगारीमा गएका कुनै नेपाली कामदारको परिवारका सदस्य विरामी परी उपचार गराउन आर्थिक समस्या परेको प्रमाणसाथ निवेदन दिएमा क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको शल्यक्रिया र पार्किस्सन तथा अल्जाइमर जस्ता गम्भीर प्रकृतिका रोगको उपचारका लागि बोर्डको सचिवालयले ५०,००० पचासहजार रुपैयामा नबढ्ने गरी एक पटक उपचार खर्च दिन सक्ने व्यवस्था रहेको छ ।
वैदेशिक रोजगारीका सिलसिलामा मृत्यु भएको/अङ्गभङ्ग भएको/गम्भीर विरामी भएको सम्बन्धि कामदारको विद्यालयस्तरमा अध्ययन गर्ने सन्ततीलाई निम्नबमोजिमको छात्रवृत्ति वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले उपलब्ध गराउँदै आएको छ :-
क) कक्षा ८ सम्म अध्ययन गर्ने सन्ततीलाई वार्षिक आठ हजार रुपैंया,
ख) कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययन गर्ने सन्ततीलाई वार्षिक बाह्र हजार रुपैया ।
उल्लेखित छात्रवृत्ति प्राप्त गर्नका लागि सम्बन्धित विद्यार्थीले आफू अध्ययनरत विद्यालयमा आवेदन दिनुपर्ने र सम्बन्धित विद्यालयले उक्त निवेदन जिल्ला शिक्षा कार्यालय पठाउने व्यवस्था रहेको छ । जिल्ला शिक्षा कार्यालयले आफ्नो जिल्ला भरीको उपरोक्त बमोजिमको छात्रवृत्तिको विवरण संकलन गरी वैदेशिक रोजगार बोर्डमा पठाउने र सचिवालयले हत जिल्ला शिक्षा कार्यालयहरुबाट प्राप्त विवरणका आधारमा सम्बन्धित जिल्ला शिक्षा कार्यालय मार्फत सम्बन्धित विद्यालयमा नै छात्रवृत्तिको रकम उपलब्ध गराउने व्यवस्था रहेको छ ।
वैदेशिक रोजगारीका सिलसिलामा मृत्यु/अंगभंग/गम्भीर विरामी भएको कामदारको परिवारको सदस्यलाई कार्यविधि बमोजिम सि.टि.इ.भि.टि. सँग समन्वय तथा सहकार्य गरी निम्नबमोजिम डिप्लोमा तहको तीन वर्षे छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गरेको छ :-
- प्रवेशिका वा सो सरहको परीक्षा उत्तीर्ण गरेका इच्छुक व्यक्तिलाई विभिन्न समूहमा विभाजन गरी नर्सिङ्ग, कृषि र इञ्जिनियरिङ्ग विषयको डिप्लोमा तहको तीन वर्षे छात्रवृत्ति ।
वैदेशिक रोजगारीका सिलसिलामा मृत्यु/अंगभंग/गम्भीर विरामी भएको कामदारको परिवारको सदस्यलाई कार्यविधि बमोजिम सि.टि.इ.भि.टि. सँग समन्वय तथा सहकार्य गरी निम्नबमोजिम पेशागत तालिम छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गरेको छ :-
- साधारण लेखपढ गर्न सक्ने इच्छुक व्यक्तिलाई विभिन्न समूहमा विभाजन गरी मोटरसाइकल मेकानिक्स, वेल्डर, प्लम्बर, कार्पेण्टर, कुक, मेसन, आल्मुनियम, विल्डिङ्ग इलेक्ट्रिसियनमा १६९६ घण्टाको पेशागत तालिम छात्रवृत्ति ।
कुनै कानूनी कारवाहीमा परेका वा कुनै फौजदारी अभियोग लागेका वा कुनै अभियोग लागि विदेशको कारागारमा बन्दी जीवन व्यतित गरिरहेको वैदेशिक रोजगारमा गएका कामदारका निमित्त सम्बन्धित मुलुकमा रहेका नेपाली दुतावास/ नियोगसँग आवश्यक समन्वय र सहकार्य गरी कानूनी सहायता/प्रतिरक्षा प्रदान गर्ने गर्दछ ।
करार अवधि समाप्त भएको वैदेशिक रोजगारमा गएको कामदारको मृत्यु भई शव अलपत्र परेमा सम्बन्धित मुलुकमा रहेका नेपाली दुतावास/ नियोगसँग आवश्यक समन्वय र सहकार्य गरी त्यस्तो अलपत्र परेको शव नेपाल झिकाउने गर्दछ ।
कानूनी सजाय पाएको, दुर्घटनामा परेको वा बिरामी भएको कारणले आर्थिक अभाव भई स्वदेश फिर्ता हुन नसकी अलपत्र परेको वा कुनै कारणले स्वदेश फिर्ता गर्नु पर्ने ठहरिएको र करार अवधि समाप्त भएको दुई वर्ष ननाघेको बैदेशिक रोजगारमा गएको कामदारलाई सम्बन्धित मुलुरुमा रहेका नेपाली दुतावास/नियोगसँग आवश्यक समन्वय र सहकार्य गरी स्वदेश फिर्ता ल्याउने गर्दछ ।
रोजगारी गुमाई वा अन्य कारणले अलपत्र परेका वैदेशिक रोजगारमा गएका कामदारलाई सम्बन्धित मुलुकमा रहेका नेपाली दुतावास/ नियोगसँग आवश्यक समन्वय र सहकार्य गरी उद्धार गरी सुरक्षित राख्ने वा नेपाल फर्किएका र तत्काल घर जान नसक्ने अवस्थामा रहेका कामदारलाई केही समय राख्न सुरक्षित गृहको व्यवस्था गर्ने र त्यसको खर्च व्यहोर्ने काम समेत बोर्डले गर्दछ।
बैदेशिक रोजगारीमा जानका लागि छनोट भएका महिला कामदारले अभिमुखीकरण तालिम लिंदा तिरेको सात सय रुपैया शुल्क उक्त अभिमुखीकरण तालिम लिएको प्रमाण पेश गरेपछि फिर्ता दिने गरेको छ ।
बबरमहल, काठमाण्डाैं, नेपाल
Something went wrong.