वैदेशिक रोजगार अभिमुखिकरण (Orentation)

वैदेशिक रोजगारमा जान के-के ध्यान दिने ? कुन-कुन कागजात आवश्यक पर्छ ? 553 views

वैदेशिक रोजगारमा जान के-के ध्यान दिने ? कुन-कुन कागजात आवश्यक पर्छ ?

प्रत्येक वर्ष धेरै नेपालीहरू कामदारका रूपमा वैदेशिक रोजगारमा जान्छन् । जुन कामका लागि रोजगारमा जाने गर्छन्, त्यस कामलाई सीपमूलक ढङ्गले कसरी गर्ने भन्ने सम्बन्धमा अभ्यास नगरी वा तालिम नै नलिइ जाने गरेका पनि छन् । कस्तो म्यानपावरबाट वैदेशिक रोजगारमा जाने ? आफू जाने रोजगारको डिमाण्डलाई नेपाल सरकारले स्वीकृति दिएको छ कि छैन ? विदेश गएर कसरी काम गर्ने हो ? आफ्नो अनुपस्थितिमा घर व्यवहार कसरी चल्ने हो ? विदेश जाने पैसा कसरी जुटाउने हो ? केके कागजपत्र ठीक पार्ने हो ? कागजात कसरी तयार पर्ने हो ? यात्रा कसरी गर्ने हो ? विदेशको विमानस्थलमा रोजगारदाताको मान्छे लिन नआएमा कसरी कार्यस्थलमा पुग्ने हो ? रोजगारदातालाई कसरी खुशी पार्ने हो ? रोजगारदाताले अन्याय गरेमा के गर्ने हो ? कमाएको पैसा हरायो भने के गर्ने हो ? घरमा पैसा कसरी पठाउने हो ? जस्ता प्रश्नहरूले रोजगारमा जानेहरूलाई सताइरहेका हुन्छन् । कोही त यिनै समस्याहरूका तनावले गर्दा विदेश जानु पूर्व नै बिरामी हुने गरेका पनि छन् । कतिजना तनाव हट्छ भनेर रक्सी खाने गर्छन् । विदेश गएर पनि यस्ता तनावले सताएर रक्सी धेरै पिएर बन्द कोठामा सुतेकै बेला मृत अवस्थामा भेटिएका केसहरू पनि यदाकदा देख्न वा सुन्नमा आएका छन् ।

यस्ता समस्याहरू नआउन् भनेर विदेश जाने मनस्थिति बनाएपछि रोजगारमा पठाउनेलाई सबै प्रश्नको उत्तर खोज्ने कोसिस गर्नुपर्छ । साथै बिबिध संकास्पद प्रश्नहरुको समाधान गर्ने उपायहरू निम्नानुसार छन्:

जुन कामका लागि विदेश जाने हो, त्यस सम्बन्धी जिज्ञाशाहरु आफूलाई वैदेशिक रोजगारमा पठाउने एजेन्सीसँग बुझ्ने गरि सोधपुछ गर्नुपर्छ । आफू जान लागेको कामको तालिम लिनुपर्छ । व्यवहारिक अभ्यास गर्नुपर्छ । यसो गर्नाले काम गर्ने सीप विकास भई आफूले गर्ने कामप्रति आत्मविश्वास बढ्छ ।

घरको आर्थिक अवस्थालाई मध्यनजर राखी आफ्नो अनुपस्थितिमा परिवारलाई आवश्यक पर्ने पैसा र सर-सामानको व्यवस्था गर्ने प्रयास गर्नुपर्छ । साथीभाइ, इष्टमित्र, दाजुभाइ, छरछिमेकसँग समन्वय कायम गरी सर-सहयोगको व्यवस्था मिलाउनु पर्ने हुन्छ । आफूसँग पैसा छैन भने सरसापट गरेर पनि घरमा खर्चको व्यवस्था मिलाउनु आवश्यक हुन्छ ।

कतिपय वैदेशिक रोजगारमा जानेहरूसँग रोजगारमा जानका लागि चाहिने खर्च हुँदैन । आफ्नो जग्गानै बेचेर जानुपर्ने स्थितिमा पनि पुग्नु हुँदैन । धरौटी राखेर बैंक वा अन्य सहकारी संस्थाबाट ऋण लिन सके राम्रो हुन्छ । नातागोता, कूलकुटुम्बबाट तिर्न सकिने खालको थोरै ब्याजमा सापटी लिन सकिन्छ । मिटर ब्याजमा वा महँगो ब्याजमा ऋण लिनु हुँदैन । आफूले यस अघि सीप आर्जन नगरेको नयाँ काममा जानु छ भने त्यस कामका बारेमा सोधपुछ गर्ने, जानकारी संकलन गर्ने, तालिम लिने समय छ भने तालिम लिएर मात्र रोजगारमा जानु राम्रो हुन्छ ।

आफ्ना नितान्त व्यक्तिगत बानीहरू हुन सक्छन् । कतिपय मानिसका यस्ता बानीहरू अरूलाई थाहा दिन नमिल्ने खालका पनि हुन्छन् । विदेशमा गएपछि यस्ता बानीहरू कार्यान्वयन गर्न मिल्ने-नमिल्ने कुराहरू पत्ता लगाएर प्रस्तुत गर्न नमिल्ने बानीहरूलाई हटाउन प्रयास गर्नुपर्ने हुन्छ ।

मालसामान र झोलाको व्यवस्था गर्दा जाने मुलुकमा लान पाइने सामान मात्र बोक्नु पर्छ । जाने मुलुकको हावापानी अनुसारका लुगाको व्यवस्था गर्नुपर्ने हुन्छ । लाने सामानहरू समयमा जुटाएर झोलामा मिलाएर राख्ने गरेमा ढुक्क हुन्छ ।

आफूसँग हुनुपर्ने कागजात, यिनीहरू प्राप्त हुने संस्था, प्राप्त गर्ने तरिका बारे सोधपुछ गरी समयमा प्राप्त गर्ने प्रयास गर्नुपर्छ । आवश्यकीय कागजातमा निम्न कुराहरू पर्छन्ः

१. सम्झौता-पत्र

यो कागज रोजगारमा जाने व्यक्ति र रोजगारदाता कम्पनी वा यसको प्रतिनिधिबीच हुने करारनामा हो । यसमा काम, तलब, काम गर्नुपर्ने दैनिक अवधि, आवत-जावतको हवाई टिकट कस्ले व्यहोर्ने भन्ने कुरा, विदेशमा खाने, बस्ने व्यवस्था कस्ले गर्ने भन्ने कुरा आदि उल्लेख गरिएका हुन्छन् । यस्ता शर्त र सुविधामा आफू कार्य गर्न मञ्जुर भएको ठानेर सम्झौता पत्रमा कामदारले सही गर्नुपर्छ । यसमा रोजगारदाता कम्पनीबाट निजको प्रतिनिधिले सहीछाप गरेको हुन्छ । 

२. स्वास्थ्य परीक्षण प्रमाणपत्र

वैदेशिक रोजगारमा जाँदा आफू निरोगी भएको प्रमाणपत्र चाहिन्छ । यो सरकारी अधिकार प्राप्त अस्पताल, सरकारले अधिकार प्रदान गरेको रजिस्टर्ड स्वास्थ्य संस्थाबाट आफूलाई परीक्षण गराई प्राप्त गर्न सकिन्छ ।

३. पासपोर्ट र भिसा

पासपोर्टले व्यक्तिलाई चिनाउँछ । विदेश जानका लागि यो अनिवार्य हुन्छ । यो सानो बुकलेट जस्तो हुन्छ । जिल्लामा जिल्ला प्रशासन कार्यालयबाट यो लिन सकिन्छ । विशेष परिस्थितिमा परराष्ट्र मन्त्रालयबाट पनि यसलाई प्राप्त गर्न सकिन्छ ।

भिसा भनेको कुनै देशले अर्को देशको मानिसलाई आफ्नो देशमा प्रवेश गर्न र बस्न दिने स्वीकृति वा आदेश हो । कतिपय देशहरूले पासपोर्टमा नै भिसाको छाप हानिदिने गर्छन् भने कुनै-कुनै देशले छुट्टै कागजमा आफ्नो देशमा प्रवेश गर्ने र बस्ने आज्ञा दिने गर्छन् । छुट्टै कागतमा प्रवेश आज्ञा दिने देशहरूमा नेपालमा राजदुतावास नहुने देशहरू पर्छन् । साउदी अरब र मलेसिया बाहेक कामदारहरू जाने प्रायः अरू मुलुकहरूले छुट्टै कागजमा भिसा बनाई दिन्छन्। जे होस् वैदेशिक रोजगारमा विदेश जाँदा जहाँतहीँ पासपोर्ट र भिसा देखाउनु पर्ने हुँदा यसलाई साथमा राख्नुपर्छ । जसलाई पायो त्यसलाई देखाउने र दिने गर्नु हुँदैन। पासपोर्ट, भिसा हरायो भने मानिस अलपत्र पर्छ । राहदानी र अन्य कागजातमा फोटो परिवर्तन (P.C.) गर्ने जस्ता कामहरू यदाकदा भएको पाइन्छ । अर्काका कागजातमा आफ्नो फोटो वा आफ्ना कागजातमा अर्काको फोटो टाँसेर कार्यवाही अगाडि बढाइएको त छैन ? राम्ररी हेरेर आफ्नो कागजातलाई नियमित बनाउनु पर्छ । कागजात तयार पार्ने क्रममा एउटाको राहदानीमा अर्काको भिसा लागेका उदाहरणहरू पनि फेला परेका छन् । कतै आफ्नो पनि त्यस्तै भएको त छैन । यसलाई राम्ररी चेक गर्नुपर्ने हुन्छ ।

४. तालिमको प्रमाण-पत्र

वैदेशिक रोजगारमा जानु अघि अभिमुखीकरण तालिम लिनुपर्छ । तालिममा वैदेशिक रोजगारमा जानु पूर्व गर्नुपर्ने तयारी, यात्रा गर्ने तरिका, विदेशमा काम गर्दा गर्नुपर्ने व्यवहारहरू, आफू स्वस्थ रहन गर्नुपर्ने प्रयास, आफ्नो हक-हीतका लागि सम्पर्क गर्नुपर्ने संस्थाहरूसम्बन्धी जानकारी, घरमा पैसा पठाउने तरिका आदि बारेमा अभ्यास गराइन्छ । तालिम लिइसकेपछि तालिम दिने संस्थाबाट प्रमाण-पत्र पाइन्छ ।

५. श्रम स्वीकृति-पत्र

वैदेशिक रोजगारमा जानका लागि श्रम स्वीकृति-पत्र लिनुपर्छ । यो स्वीकृति वैदेशिक रोजगार विभागले दिन्छ । कुनै म्यानपावर कम्पनीमार्फत् कार्यवाही चलाइएको भए कम्पनी मार्फतनै विभागले स्वीकृति दिन्छ । अहिले अनलाइनबाटनै श्रम स्वीकृति प्राप्त गर्न सकिने व्यवस्था छ । श्रम स्वीकृति निश्चित अवधिको हुन्छ । अवधि सकिएपछि सोहि कम्पनीमा काम गर्न चाहेको खण्डमा पुन: श्रम स्वीकृति लिन सकिन्छ । विदेशबाटै अनलाइन मार्फत श्रम स्वीकृति नवीकरण गर्न सकिन्छ ।

६. हजाईजहाज टिकट

हवाईजहाज टिकट नभई विदेश जान पाइँदैन । टिकट बेच्ने एजेन्टहरू काउन्टर खोलेर धेरै ठाउँहरूमा बसेका हुन्छन् । टिकटको मूल्यमा पनि फरक-फरक दर हुन सक्छ । म्यानपावर कम्पनीमार्फत् जाने हो भने कम्पनीले नै टिकटको व्यवस्था गर्छ । व्यक्तिगत रूपले जाने हो भने राम्ररी बुझेर मात्र आधिकारिक एजेन्सीबाट मात्र टिकट किन्ने गर्नुपर्छ । टिकट सुरक्षित तवरले राख्नुपर्छ । हरायो भने अनावश्यक झमेला पैदा हुन्छ ।

७. बीमाको कागज

वैदेशिक रोजगारमा जाने कामदारको दुर्घटना बीमा भएको हुनुपर्छ । नेपाल स्थित बीमा कम्पनीहरूमा दुर्घटना बीमा गर्न सकिन्छ । दुर्घटना बीमा गरेको कागज विदेश जाँदा नलगी घरमा नै छोड्नु पर्छ । विदेशमा कामदार दुर्घटनामा परेमा वा अन्य कारणले उनको मृत्यु भएमा घरमा रहेका परिवारका सदस्यहरूले रकम भुक्तानी पाउने गरी दुर्घटना बीमा गर्नुपर्ने हुन्छ ।

Call Us

1141

Location

Babarmahal, Kathmandu, Nepal

Related Orientaion