वैदेशिक रोजगार अभिमुखिकरण (Orentation)

कुन/कुन प्रकृया (Process) बाट वैदेशिक रोजगारमा जान सकिन्छ ? 528 views

कुन/कुन प्रकृया (Process) बाट वैदेशिक रोजगारमा जान सकिन्छ ?

वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्नका लागि वैदेशिक रोजगार ऐन, २०६४ कार्यान्वयनमा रहेको छ । उक्त ऐनमा निम्नबमोजिम दुई प्रकृयाको अवलम्बन गरी वैदेशिक रोजगारीमा जान सकिने व्यवस्था रहेको छ ।

क) संस्थागत
ख) व्यक्तिगत

क) संस्थागत प्रकृयाबाट वैदेशिक रोजगारीमा जाने भन्नाले वैदेशिक रोजगार विभागबाट इजाजत प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्था (म्यानपावर) मार्फत वैदेशिक रोजगारीमा जाने प्रकृया हो । यो प्रकृयामा-

✓ म्यानपावर संस्थाले विदेशमा रहेका रोजगारदाता संस्थाबाट विभिन्न किसिमका कामहरु गर्नका लागि कामदारहरुको माग प्राप्त गरेको हुन्छ र यस्ता मागसँग सम्बन्धित विषयहरु खोली म्यानपावर संस्थाले सार्वजनिक रुपमा विज्ञापन गर्दछन् ।

✓ यस्ता विज्ञापनमा म्यानपावर संस्थाले वैदेशिक रोजगारका लागि कामदार पठाउने मुलुक, रोजगारको किसिम, कामदारको संख्या, कामदारले पाउने सेवासुविधा लगायतका अन्य विषयहरु समावेश गरिएका हुन्छन। कामदारको आफ्नो रुची र क्षमता मिल्दो भएमा सम्बन्धित म्यानपावर संस्थामा गई आवेदन गर्नुपर्दछ ।

✓ म्यानपावर संस्थाको विज्ञापनमा आवेदन गर्नका लागि कुनैपनि अनाधिकृत व्यक्तिको प्रलोभनमा पर्नुहुदैन। जो कसैलाई आफ्नो पासपोर्ट दिनहुदैन। म्यानपावर संस्थाले विज्ञापनमा उल्लेख गरेको कुनै विषयमा अस्पष्टता भएमा सम्बन्धित म्यानपावर संस्थाको आधिकारिक व्यक्ति वा नजिकैको सूचना केन्द्र वा वैदेशिक रोजगार विभागमा समेत बुझि स्पष्ट भएर मात्र आवेदन गर्नुपर्दछ ।

✓ म्यानपावर संस्थाले प्रकाशन गरेको विज्ञापनमा वैदेशिक रोजगारका लागि छनोट भएमा कामदारले निम्नबमोजिमका तयारी गर्नुपर्ने हुन्छ :-

- श्रम तथा रोजगार मन्त्रालयबाट सुचीकृत स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराई निरोगिताको प्रमाणपत्र लिनुपर्दछ ।

- वैदेशिक रोजगार विभागबाट अनुमतीपत्र प्राप्त गरी अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाबाट दुई कार्यदिनको अभिमुखीकरण तालिम लिई प्रमाणपत्र लिनुपर्दछ ।

- आफूले आवेदन गरेको म्यानपावर संस्थाले कानून बमोजिम मान्यता प्राप्त बीमकबाट बीमा गराए/नगराएको विषयमा बुझि नगराएको भए बीमा गराउनुपर्दछ ।

- सेवाशुल्क तिर्दा जति रकम तिरेको छ सोको भर्पाइ अनिवार्य लिनुपर्दछ ।

- वै.रो. कल्याणकारी कोषमा नियमानुसारको रकम जम्मा गर्नुपर्छ ।

- नेपाल स्थित म्यानपावर व्यवसायी र विदेश स्थित रोजगारदाता संस्था वा निजको प्रतिनिधिका वीचमा भएको करार सम्झौताको प्रति प्राप्त गर्नुपर्दछ । यस्तो सम्झौतापत्रमा वैदेशिक रोजगारी दिने मुलुकमा कामदारको सुरक्षाको स्थिति, रोजगारका सेवा, शर्त, कामदारले पाउने पारिश्रमिक आदिको बारेमा स्पष्ट उल्लेख गरिएको हुन्छ ।

ख) व्यक्तिगत प्रकृ‌याबाट वैदेशिक रोजगारीमा जाने भन्नाले विदेश स्थित रोजगारदाता कम्पनीबाट आफैले कामदारको माग प्राप्त गरी वैदेशिक रोजगार विभाग वा अन्तर्गतको कार्यालयबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा जाने प्रकृया हो। यो प्रकृयामा कामदार आफैले तपसिलमा उल्लेखित विवरणहरु खुलाई वैदेशिक रोजगार विभाग वा मातहतको श्रमस्वीकृती जारी गर्ने निकायमा श्रमस्वीकृतीका लागि आवेदन गर्नुपर्ने छ :-

- रोजगारका लागि जान चाहेको मुलुक,

- विदेशमा गर्नुपर्ने कामको प्रकृति,

- रोजगारदाता संस्थाले दिएको स्वीकृतीपत्र,

- रोजगारका शर्त तथा सुविधा स्पष्ट उल्लेख भएको सम्झौतापत्र,

- अभिमुखिकरण तालिम प्राप्त गरेको प्रमाणपत्र,

- निरोगिताको प्रमाणपत्र,

- विमा गरेको प्रमाण,

- कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण, आदि

Call Us

1141

Location

Babarmahal, Kathmandu, Nepal

Related Orientaion