वैदेशिक रोजगारमा जानेहरुले वैदेशिक रोजगारमा जाने पूर्व तयारीका कामहरू सकिएपछि आफ्नो उडान मितिका दिन जहाज उड्ने समयभन्दा २-३ घण्टा पहिलेनै आफ्नो देशको अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुपर्छ । विमानस्थल तर्फ प्रस्थान गर्दा टिकट, पासपोर्ट, भिसा र श्रम स्वीकृति-पत्रलाई सजिलैसँग झिकेर देखाउन सकिने गरी राख्नुपर्छ । विदेश जाने हडबडी र तनाबको कारण यस्ता कागजात कतै हराउने वा छोडिन सकिने हुँदा विशेष ख्याल गर्नुपर्छ । धेरैजसो यात्रुहरूले यी कागजातलाई कमरमा बाँध्ने सानो ब्यागमा राख्ने गर्छन् । यसोगर्दा झिक्न र राख्न सजिलो हुन्छ । ब्यागमा चेन लाग्ने हुनाले यो सुरक्षित पनि हुन्छ । एयरपोर्टमा विदेश जान धेरैले लाइन लागिरहेका हुन्छन् । त्यसै तर्फ गेटमा नै सुरक्षाकर्मीले टिकट र पासपोर्ट माग्छन् । मागेका कागजात सुरक्षाकर्मीलाई देखाई एयरपोर्ट भित्र प्रवेश गर्नुपर्छ ।
एयरपोर्टभित्र प्रवेश गरिसकेपछि लाइनमा उभिएर सामान चेक गराउने काउन्टरमा गई सामान चेक गराउनु पर्छ । मेशिनबाट सामान जाँचेर प्रहरीले ब्याग चेक गरेको ट्याग आफ्नो ब्याग र अरू सामान भए तिनीहरूमा पनि टाँसिदिन्छन् । सुरक्षा जाँच गरेपछि आफ्नो सामान सहित बोर्डीङ पास लिने लाइनमा गएर बस्नुपर्छ । त्यहाँका कर्मचारीले क्रमश: बोर्डीङ पास दिईरहेका हुन्छन् । आफ्नो पालो आएपछि आफ्नो टिकट, पासपोर्ट र भिसा दिनुपर्छ । साथै आफ्नो हातैमा बोक्ने (ह्याण्डकरी) बाहेक लगेज लगायतको सामानहरु तौल लिने मेसिन मार्फत तौल गर्दै भित्र पठाउने काम त्यहिका कर्मचारीले गर्छन् । त्यसरी भित्र पठाईएको सामान तपाइँ पुग्ने गन्तव्य देशमै पुगेर पाइने हुँदा बोर्डीङ पास लिएपछि त्यसको चिन्ता गर्नु पर्दैन । सामान लगेज गरेपछि अब प्लेन चढ्ने बोर्डिङपास पाइन्छ । बोर्डिङपाससँग आफूले दिएका सबै कागजात पनि फिर्ता पाइन्छ । सबै कागजात फिर्ता भए-नभएको राम्ररी चेक गरेर मात्र यिनीहरूलाई सुरक्षित साथ खोजेका बेलामा सजिलैसँग झिक्न सकिने गरी राख्नुपर्छ । बोर्डिङपाससँग तौल गरी लगेज अन्तर्गत बुझाएका सामानहरूको ट्याग पनि पाससंगै दिइन्छ । त्यसलाई पनि सुरक्षित साथ राख्नुपर्छ । नत्र विदेशको एयरपोर्टमा आफ्नो लगेज गरिएको सामान फिर्ता पाउन समस्या हुन्छ । तर तपाइँले आफूसंगै लैजाने भनि लगेज नगर्नुभएको सामान भने तपाइँले साथैमा बोकेर हिड्नुपर्छ ।
बोर्डिङपास लिएपछि अध्यागमनको काउन्टर तर्फ जानुपर्दछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको काउन्टर एक तलामाथि चढेर जानु पर्दछ । कसरी त्यहाँसम्म पुग्ने भन्ने थाहा नभए सुरक्षा अधिकारीहरु वा त्यहाँ भेटिएका जो कोहिलाई सोध्न हिचकिचाउनु हुँदैन । त्यसो त बोर्डीङ पास लिएका अरु यात्रु कता जाँदैछन् ध्यान दिनुभएमा पनि तपाइँलाई कता जाने भन्ने जानकारी हुन्छ
अब एक तलामाथि चढेपछि एउटा अध्यागमन फारम भर्नु पर्दछ । यो फारम नेपालीहरू र विदेशीलाई फरक-फरक बनाइएको छ । नेपालीले भर्ने चाहिँ फारम भर्नु पर्दछ । एउटा साधारण डटपेन पनि साथै राख्न पर्दछ । यदि आफूसंग छैन भने अरुसँग माग्न सकिन्छ ।
फारम भरिसकेपछि अध्यागमन डेस्कतिर जानु पर्दछ । अरू कता गए त्यतै गएमा सजिलै त्यहाँ पुगिन्छ । अरू मानिसहरू त्यहाँ लाइन लागिरहेका हुन्छन् । अध्यागमन डेस्क कूटनैतिक व्यक्तिलाई, विदेशीलाई र स्वदेशीलाई छुट्टाछुट्टै हुन सक्दछन् । आफू कहाँ जाने भन्ने जान्नु पर्दछ वा अरुसँग बुझ्नुपर्छ । डेस्कमा बस्ने अफिसर बसेको ठाउँमा त्यसको सूचना हुन्छ । राम्ररी हेरेर नेपालीका लागि लेखिएको डेस्कमा पुग्नेगरी लाइनमा बस्नु पर्दछ । लाइनमा बस्दा नहडबडाई बस्ने र पहिलो लाइनमा पुगेपछि आफ्नो अगाडिको मान्छेको काम नसकिएसम्म उभिइरहनु पर्दछ । वैदेशिक रोजगारमा जाने कामदारका लागि अलग्गै लाइनको व्यवस्था पनि हुन सक्दछ । आफ्नो पालो आएपछि पासपोर्टभित्र बोर्डिङपास राखी काउन्टरमा दिनु पर्दछ । पछिल्लो समय अध्यागमनमा आइरिस प्रणाली जोडिएको छ । तपाइले अध्यागमन अधिकारीले निर्देशन गरे अनुसार गर्नुपर्छ । अध्यागमन अधिकारीले अन्य थप कागजात पनि माग्न सक्छन् । अधिकारीले मागेको कागजात र सोधेका कुराहरुको नहडबडाई जवाफ दिनुपर्छ । अब सबै प्रक्रिया सकिएपछि अध्यागमन अधिकारीले तपाइँको बोर्डिङपास र पासपोर्टमा छाप लगाएर तपाइँलाईनै सबै कागजात फिर्ता दिनेछन् । त्यसपछि अब अध्यागमन पार गर्न सक्नुहुनेछ ।
अब तपाइँ प्रतिक्षालयमा गई आफ्नो सुरक्षा जाँच गर्ने पालो पर्खिनु पर्दछ ।
प्रतिक्षालयमा ढिलो पगेको भए सुरक्षा जाँच गर्ने गेटमाथि उडान नम्बर देखिइसकेको हुन्छ । प्रतीक्षालयमा उडान अनुसार कल भईरहेको पनि हुन्छ । साथै कुन प्लेनको उडानको स्थिति के छ देखाईरहेको पनि हुन्छ । आफ्नो पालो आईसकेको छ भने प्रतिक्षालयमा विश्राम गरिराख्नु हुँदैन । आफ्नो उडान नम्बर लागेको गेटमा गएर आफ्नो शरीर र हाते झोला (ह्याण्डकरी) को जाँच गराउनु पर्दछ । यस्तो गरेपछि सेक्युरिटी पासको छाप बोर्डीङ पासमा लगाईन्छ । यो जाँचपछि अरू गएको बाटोबाट वा बोर्डिङपासमा लेखेको गेट नम्बरअनुसारको गेटबाट हवाईजहाज चढ्न जानुपर्छ ।
यात्रुहरूलाई विमानमा लैजाँदा पनि उडान नम्बरअनुसार बोलाइन्छ । उदाहरणका लागि NA 603 दुवई जानेहरू गेट नम्बर चारतर्फको हवाईजहाजमा जानुहोला भनेर बोलाइन्छ । यदि NA 602 नम्बरको अर्को हवाईजहाज पनि दुवई नै जाँदै रहेछ भने दुवई जानेहरू भन्यो भनेर त्यो चढ्ने गेटमा जानु हुँदैन । यात्रुले NA 603 र 602 को फरक छुट्याउनुपर्छ । आफ्नो उडानको नम्बर तोकी बोलाएपछि पङ्क्तिवद्ध भएर जहाज चढ्नु पर्दछ । जहाजमा चढ्न जाँदा बोर्डिङपास हातमा लिएर जानु पर्दछ । यो पासमा सिट नं. लेखेको हुन्छ । बोर्डिङपास राम्ररी हेरेर सिट नम्बर भेट्न सकिन्छ । जहाजको सिंडी चढेपछि अन्तिम खुटकिलोमा हवाई परिचारक/परिचारिका बसेका हुन्छन् । उनीहरुलाई बोर्डिङपास देखाएपछि हवाईजहाजको कतापट्टीबाट गएमा सिटमा पुगिन्छ भनेर इशाराले देखाउँछन् । इशाराले देखाएपट्टि आफ्नो टाउकोको उचाइमा हेर्नु पर्दछ । त्यहाँ सिट नम्बर लेखको हुन्छ । भित्रको परिचारिकाले पनि सिट देखाइदिन्छन् ।
सिटमा बस्नुभन्दा पहिला आफ्नो झोला, सुट्केश के छ त्यसलाई आफू बस्ने सिटभन्दा माथिको क्याविनमा राख्नु पर्दछ । अरूले खोलेको, सामान राखेको र बन्द गरेको हेरेर खोल्न र बन्द गर्न सकिन्छ । खोल्न नजानेमा परिचारिकालाई सोधेर खोल्नु पर्दछ । झोला, सुटकेश आदि बसमा जस्तो खुट्टाछेउमा राख्नु हुँदैन । क्याविनमा नै राख्नु पर्दछ । सामान राखेपछि शान्त भएर सिटमा बस्नु पर्दछ । सिटमा बसेपछि सिटको पेटी बाँध्नु पर्दछ । नजिकको साथीलाई सोधेर वा परिचारिकालाई सोधेर सिटको पेटी बाँध्नु पर्दछ । पेटी नबाँधी उड्नु हुँदैन । नजानेको कुरा शिष्टतापूर्वक सोध्न गाह्रो मान्नु हुँदैन ।
आफू माछा, मासु नखाने भए पहिले नै टिकट काट्ने समयमा कम्पनीलाई भन्यो भने उसले हवाईजहाज कम्पनीलाई भनेर शाकाहारी खाना आफ्नो सिटमा नै ल्याइदिन्छन् । हवाईजहाजमा नै भनेमा पनि हुन सक्दछ तर तुरून्त मिलाएर खाना दिन त्यति सम्भव हुँदैन । खाना दिँदा पानी, चिया आदि थपेर खान सकिन्छ । अरूले खाएको हेरेर पनि के-के कसरी खाने हो सिक्न सकिन्छ । भोकै हुनेगरी लाजले नखाने गर्नु हुँदैन । पेट चर्कने गरी धेरै पनि खानु हुँदैन । हवाईजहाजभित्र रक्सी नखानु राम्रो हुन्छ । हवाईजहाजभित्र खान दिइएका खानेकुराहरूको पैसा तिर्नु पर्दैन ।
लामो दूरीको हवाईजहाजमा बाथरूम प्रयोग गर्नुपर्ने हुन्छ । हवाईजहाजको ठाउँ-ठाउँमा बाथरूम (शौचालय) हुन्छ । पहिलो पटक जानेले अरूले प्रयोग गरेको हेरेर पनि सिक्न सकिन्छ । दिशापिसाव रोकेर हवाईजहाजमा बस्नु हुँदैन । ढोका खोल्न लगाउन नआएमा सोधेर जान्नु पर्दछ । सोध्न गाह्रो मानेमा दुःख पाइन्छ । भित्र पसेपछि पहिले ढोका कसरी बन्द गर्ने विचार गरेर हेर्नु पर्दछ । बन्द गर्न जानेपछि पानीको पाइप कता छ हेर्नु पर्दछ । पानीको पाइप खोलेपछि झोलसाबुन प्रयोग गर्ने तरिका थाहा पाउनु पर्दछ । त्यसपछि मात्र बाथरूमको प्रयोग गर्नु पर्दछ ।
तपाई गन्तव्य देशमा जाँदा फेरी अर्को जहाज चढ्नुपर्ने छ भने आफ्नो ह्याण्डकरी सहित अर्को जहाज चढ्ने प्रक्रिया तर्फ लाग्नु पर्छ । यदि तपाइँ गन्तव्य देशमै पुगीसक्नुभएको छ भने अब सिधै अध्यागमन तर्फ गएर अध्यागमन पार गरेपछि आफ्नो लगेज आउने ठाउँमा पुगेर आफ्नो लिएर बिमानस्थल बाहिर जानुहुन्छ ।
यदि अर्को प्लेन फेरी चढ्नु छ भने विमानबाट बाहिर निस्के पनि विमानस्थलबाट भने बाहिर निस्कनु पर्दैन । साथै आफ्नो लगेज खोज्न पनि पर्दैन । बरु आफू चढ्ने अर्को प्लेनको फलोअप गर्नुपर्छ । अर्को प्लेन चढ्न केहि घण्टा अझै समय छ उक्त प्लेन चढ्ने सबै जानकारी लिएर प्रतिक्षामा बस्नुपर्छ । यदि निदाइन्छ र जहाज छुट्छ भन्ने डर लाग्छ भने अलराम लगाएर केहिबेर प्रतिक्षालयमै पनि सुत्न सकिन्छ ।
यदि तपाइँ गन्तव्य देशमै पुग्नुभएको छ भने विमानबाट ओर्लिएपछि अध्यागमनको डेस्कतिर जानु पर्दछ । नेपालमा जस्तै त्यहाँ पनि अध्यागमनको काउन्टर हुन्छ । यी काउन्टरहरूमा स्वदेशी, विदेशी, कूटनीतिज्ञहरूलाई भनेर छुट्याएको हुन्छ । कुनै-कुनै देशमा कामदार लिन आउने कम्पनीको मान्छे त्यहि ठाउँसम्म आउँछन् । कम्पनीको मानिस नआए पनि अध्यागमनमा आफ्नो पासपोर्ट र अध्यागमन फाराम देखाई पासपोर्टमा छाप लगाई बाहिर निस्कनु पर्दछ । पासपोर्टमा छाप नलागी छुट्टै कागजमा भिसा पठाउने देशहरूमा पुग्दा कामदारहरूले पासपोर्टमा यो पेपर भिसा पनि राखेर अध्यागमन काउन्टरमा दिनु पर्दछ । यो कागजको भिसाको सट्टा अध्यागमनले छाप लगाई अर्को भिसा दिने प्रचलन छ ।
अध्यागमनबाट पार भइसकेपछि लगेज लिने काउन्टरमा जानुपर्छ र आफ्नो सामान लिनुपर्छ । भन्सार पार नगर्दै यस्तो सामान आउने घुरनीहरू लगाइएका हुन्छन् । यी घुरनीमा विमानबाट झिकेर सामान राखिन्छ । घुरनीले घुमाउँदै सामान आफू भए छेउमा नै ल्याउँछन् । यस्ता घुरनीहरू एकै ठाउँमा धेरै हुन्छन् र आफ्नो सामान कुन घुरनीमा आउँछ भन्ने जान्नु जरूरी छ । यस्ता घुरनीको माथि उडान नम्बर लेखेको हुन्छ । आफू जुन उडानबाट त्यहाँ पुगेको हो, त्यही नम्बर लेखेको घुरनीमा आफ्नो सामान आउँछ । आफ्नो सामान आएपछि त्बन बाट चिनेर उठाई लिनु पर्दछ । आएन भने सामान नआएको सिकायत कता गर्ने भनेर सोधी सिकायत गर्नु पर्दछ । अब आफ्नो सामान लिई सकेपछि बाहिर निस्कन सकिन्छ ।
एयरपोर्टमा कम्पनीको मानिस लिन आउने भए ग्रीनच्यानल (हरियो च्यानल) को बाहिरपट्टि प्लेकार्डमा आफ्नो नाम लेखेर उभिएको व्यक्ति हेर्नुपर्छ । उनीले नै कार्यथलो पुऱ्याउँछन् । मानिस लिन नआउने हो भने कम्पनीलाई फोन गरेर उसले भने अनुसार गर्नुपर्छ । स्वदेशमा रहँदै हिँड्ने बेलासम्ममा कम्पनीको फोन नम्बर र सम्पर्क गर्नुपर्ने व्यक्तिको नाम टिपेर सँगै लानुपर्छ ।
Babarmahal, Kathmandu, Nepal
Something went wrong.