वैदेशिक रोजगारमा जाने धेरै नेपाली युवाहरू शारीरिक, मानसिक, र वातावरणीय कारणहरूले गर्दा मुटुरोगको उच्च जोखिममा हुन्छन् ।
अस्वस्थ खानपान
धेरैजसो प्रवासी मजदुरहरू चिल्लो, तारेको, फास्ट फुड तथा उच्च कोलेस्ट्रोलयुक्त खाना खान बाध्य हुन्छन् । वैदेशिक रोजगारको क्रममा तरकारी, फलफूल तथा पौष्टिक आहार खान पाउने सीमितता हुन्छ ।
अत्यधिक तनाव र डिप्रेसन
परिवारबाट टाढा हुनु, काममा दबाब तथा आर्थिक समस्याले मानसिक तनाव बढाउँछ । अत्यधिक मानसिक तनावले रक्तचाप बढाउँछ र मुटुमा असर गर्छ ।
निन्द्राको कमी (Sleep Deprivation)
लामो समय काम गर्दा, शिफ्ट ड्युटी तथा कठोर परिश्रमका कारण पर्याप्त आराम नपाउने स्थिति हुन्छ । कम सुत्दा रक्तचाप अनियमित हुन सक्छ, जसले मुटुलाई कमजोर बनाउँछ ।
शारीरिक परिश्रमको अधिकता वा कमी
केही रोजगारमा अत्यधिक परिश्रम गर्नु परे पनि, केहीमा निष्क्रिय बस्नुपर्ने पनि हुन्छ । अनावश्यक भार उठाउन पर्ने वा लामो समयसम्म एकै ठाउँमा बस्ने बानीले मुटुलाई असर गर्छ ।
धूम्रपान, मद्यपान, तथा लागुपदार्थको सेवन
धेरैजसो प्रवासी मजदुरहरू तनाव कम गर्न मद्यपान तथा धूम्रपानमा निर्भर रहन्छन् । यसले रक्त नलीहरूलाई साँघुरो पारेर मुटु रोगको उच्च जोखिम बढाउँछ ।
हावापानी र वातावरणीय प्रभाव
उच्च तापक्रम वा अत्यधिक चिसो वातावरणमा काम गर्दा शरीरमा थप दबाब सृजना हुन्छ । प्रदूषणयुक्त क्षेत्रमा काम गर्दा फोक्सो र मुटु दुवैमा असर पर्न सक्छ ।
नियमित स्वास्थ्य परीक्षणको अभाव
नियमित स्वास्थ्य जाँच गर्न नसकिने हुँदा रक्तचाप, कोलेस्ट्रोल, वा अन्य स्वास्थ्य समस्या पहिचान गर्न गाह्रो हुन्छ ।
विदेशमा रहेर पनि मुटु स्वस्थ राख्न निम्न उपायहरू अपनाउन सकिन्छ:
- चिल्लो, तारेको, प्रोसेस्ड फुड कम गर्ने।
- सकेसम्म फलफूल, हरियो सागसब्जी, गेडागुडी, फाइबरयुक्त खाना खाने ।
- नुन कम खाने र पानी पर्याप्त मात्रामा पिउने।
- योग, ध्यान, वा गहिरो सास लिने अभ्यास गर्ने ।
- परिवार तथा साथीभाइहरूसँग कुराकानी गरी तनाव कम गर्न सकिन्छ ।
- आवश्यक परेमा मानसिक स्वास्थ्य विशेषज्ञ वा काउन्सलरसँग सल्लाह लिनुपर्छ ।
- दिनहुँ ३०-४५ मिनेट हिँड्ने वा हल्का कसरत गर्ने ।
- अत्यधिक परिश्रम गर्नेहरूले सही तरिकाले शरीरलाई आराम दिने ।
- धूम्रपान र मद्यपान त्याग्ने
- अन्य स्वस्थ विकल्पहरू खोज्ने, जस्तै: तातोपानी वा हर्बल चिया पिउने ।
- हरेक रात ७ देखि ८ घण्टासम्म सुत्ने ।
- शिफ्ट ड्युटी भएपनि नियमित निद्रा तालिका मिलाउने ।
- सकेसम्म ६ देखि १२ महिनामा एक पटक स्वास्थ्य परीक्षण गर्ने । विदेशमा सम्भव छैन भने नेपाल बिदामा आएको बेला अनिवार्य फुल बडी परिक्षण गरेर मात्र रोजगारमा जाने ।
- चिकित्सकको सल्लाहअनुसार औषधि वा आवश्यक उपाय अपनाउने ।
- अत्यधिक गर्मी वा चिसोमा काम गर्दा आवश्यक सुरक्षात्मक उपायहरू अपनाउने ।
- भारी काम गर्दा उचित सुरक्षाका उपायहरू अपनाउने।
विदेशमा काम गर्ने नेपाली युवाहरूले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिन जरुरी छ । पैसा कमाउने चक्करमा आफ्नो स्वास्थ्य बिग्रियो भने त्यसले ठूलो क्षति हुन्छ । उपचारकै लागि ठूलो धनराशीको खर्च गर्नुपर्ने हुनसक्छ । सही खानपान, व्यायाम, तनाव व्यवस्थापन, तथा स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिएर मुटुरोगको जोखिम कम गर्न सकिन्छ । आफ्नो भविष्य सुरक्षित बनाउन स्वास्थ्यमा लगानी गर्नु सबैभन्दा बुद्धिमानी निर्णय हुन्छ । त्यसैले झर्को नमानी नियमित स्वास्थ्यमा ध्यान दिनुहोला ।
यो भिडियो पनि हेर्नुहोस्
-
Something went wrong.