रामविलास मलेसियाको एउटा कन्सरट्रक्सन कम्पनीमा काम गर्छन् । उनी त्यहाँ निर्माण सामग्रीहरू मिस्त्रीका लागि ओसार्ने काम गर्छन् । इँटा, काठ, फलामे छड, सिमेन्ट, बालुवा आदि सामग्रीहरू गोदामबाट बोकेर निर्माण स्थलसम्म उनले पुऱ्याउने गर्छन् । नेपालको तराई क्षेत्रका रामविलासले चप्पल लगाएर काम गर्ने गर्थे । उनले हेलमेट लगाउने तर्फ कुनै सोच नै राखेनन् । सिमेन्टका बोरा बोक्दा-बोक्दा उनको पिठिउँ लछारिएको थियो । एक दिन उनी सिमेन्टको बोरा लिएर निर्माणाधीन भवनको तेस्रो तलामा पुगेका थिए । ठूलो हुरी आयो । निर्माण हुँदै गरेको दिवाल ढल्यो । झ्यालको फ्रेम खसेर रामविलासको टाउकोमा पर्यो । जोगिन खोज्दा उनको खुट्टामा किला जाकिन पुग्यो। उनी वेहोस भए । उनको टाउको र खुट्टाबाट रगत धेरै बग्यो । कन्सरट्रक्सन कम्पनीले उनलाई अस्पताल पुऱ्यायो । डाक्टरले उनको उपचार गरे । उनको होस आयो । विस्तारै टाउको र खुट्टाको घाउ पनि निको भयो तर उनलाई दमको सिकायत देखियो । डाक्टरको भनाइ अनुसार अब उनले सिमेन्ट बोक्ने काम गर्नु हुँदैन । सिमेन्टको धुलो उनका नाक र मुखबाट स्वास- प्रश्वास प्रणालीमा धेरै दिनदेखि पसेर दमको विमारले उनलाई सताउन थालिसकेको कुरा पनि डाक्टरले बताए । उनले अब भारी बोक्ने काम पनि गर्नु हुँदैन अरे । कम्पनी मालिकलाई यी सबै कुरा थाहा भयो । रामविलासले सम्झौता गरेको काम नै यिनै थिए । कम्पनी मालिकलाई धेरै दुःख लाग्यो । उनले रामविलासको तलबमा २ लाख रूपैयाँ थपिदिएर उनलाई नेपाल फर्काइदिए ।
तपाइले माथि रामविलासको समस्या पढ्नुभयो, अब तल पढ्नुहोस् र रामविलासले पहिलेनै सावधानी अपनाएको भए यस्तो समस्या आउने थिएन कि भन्ने मनन गर्नुहोस्
# आफू काम गर्ने कम्पनीमा निर्माण सामग्री ओसार्दा रामविलासले सावधानी अपनाएको भए…
# रामविलास प्रति कम्पनी मालिकले गरेको व्यवहार सकारात्मक नभएको भए…
# रामविलास नेपाल (घर) त आए । उनको भविष्य अब कसरी चल्ला ?
# रामविलासका स्थानमा तपाई हुनु भएको भए…
# उद्योगको धुवाँ, ग्याँस, केमिकल्सहरुको गन्ध, धुलो आदिबाट वैदेशिक रोजगारमा गएका कामदारहरूलाई बिभिन्न रोग लाग्न सक्छन् । यस्ता काममा जाँदा सावधानी अपनाउनु पर्छ । सुरक्षा सतर्कता हुनुपर्छ भन्ने कुरा पहीलेनै थाहा भईदिएको भए… ।
यस्तो अवस्थामा तपाइँ के गर्नुहुन्छ ?
वैदेशिक रोजगारमा रहेका सँगै काम गर्ने एकजना नेपाली साथीलाई कारखानाको पुर्जा उछिटिएर नारीमा लाग्यो । निकै ठूलो घाउ भयो। रगत बग्न थाल्यो। अस्पताल निकै टाढा छ । प्राथमिक उपचार गर्नु पर्यो । तत्कालको लागि अथवा अस्पताल नपुगुनजेलसम्म हुनसक्ने जोखिमबाट आफ्नो साथिलाई बचाउन तपाई के-के गर्नु हुन्छ ?
सामान्यत: यस्तो अवस्थामा प्राथमिक उपचार गर्नेले सर्वप्रथम आफ्नो हातमा ग्लब लगाएको हुनुपर्छ । ग्लब लगाएपछि घाइतेको घाउ सफा पानीले धोई सफा कपडाले पट्टी बाँधिदिएर अस्पताल लाने तरखर गरेको हुनुपर्छ ।
अझै बुझ्नुहोस्:
यदि साथीलाई गम्भीर चोट लागेको छ र अस्पताल टाढा छ भने प्राथमिक उपचारको लागि निम्न चरणहरू अपनाउन सकिन्छ:
१. पहिलो कदम भनेको आफूलाई र घाइते साथीलाई शान्त राख्नु हो। यसले तनाव कम गर्न मद्दत गर्छ र सही निर्णय लिन सहयोग पुर्याउँछ।
२. रक्तस्राव कति गम्भीर छ भनेर हेर्नुहोस्। यदि रगत धेरै बगिरहेको छ भने, प्राथमिक प्राथमिकतामा रोकथाम गर्नुपर्छ।
३. सफा कपडा, पट्टी, वा कपडाको टुक्रा प्रयोग गरेर घाउमा दबाब दिनुहोस्। यसले रगत बग्न रोक्न मद्दत गर्छ।
दबाब निरन्तर राख्नुहोस् र हातले बलियोसंग घाउमा थिच्नुहोस्।
४. यदि सफा पानी उपलब्ध छ भने, सफा पानीले घाउलाई हल्का सफा गर्न सक्नुहुन्छ । तर, कुनै पनि कडा रसायनयुक्त चीज प्रयोग नगर्नुहोस्।
५. घाउ सफा भएपछि, सफा कपडा वा पट्टीले कडा बाँधेर रक्तस्राव रोक्ने प्रयास गर्नुहोस्।
६. रक्तस्राव कम गर्नको लागि, चोट लागेको भागलाई हृदयको स्तरभन्दा माथि उठाउनुहोस्।
७. तुरुन्तै एम्बुलेन्स बोलाउने वा कसैलाई नजिकको अस्पताल वा स्वास्थ्य सेवाको बारेमा जानकारी दिन भन्नुहोस्।
८. साथीलाई शान्त राख्दै आराम गराउनुहोस्। अत्यधिक रक्तस्राव भएमा जति सक्दो चाँडो चिकित्सकीय सहायता प्राप्त गर्नुपर्ने हुन सक्छ।
तपाइँसँग यति गर्न सक्ने खुवी छ ? छ भने आफैलाई यस्तो पर्दा पनि तपाइँले अरुको सहयोग लिन सजिलो हुन्थ्यो कि ? यस्ता हुनसक्ने घटनाको पुर्व तयारी, सामान्य बिरामी हुँदा आवश्यक पर्ने औषधि तपाईसंगै छ भने तपाइँलाई आवश्यक पर्दा धेरै सजिलो हुन्छ ।
'निधारमा लेखेर आएको कसैले टार्न सक्दैन भन्ने आहानलाई कामगर्दा हुने दुर्घटनासँग जोडेर यस्तै हुनु थियो, भयो भन्ने सोच राख्ने साथीहरू पनि हुन्छन् । यस्ता कुराहरुले गर्दा सावधानी हट्छ र दुर्घटना बढ्छ भन्ने बुझ्नुपर्छ । हामीले सावधानी अपनाऔं भने दुर्घटना घटाउन सकिन्छ ।
त्यसैले वैदेशिक रोजगारमा जाने सबैलाई सुझाव छ :,
सकेसम्म जोखिमपूर्ण काममा सम्झौता नगरौं र गर्नुभए पनि हदैसम्मको सावधानी अपनाउनुहोस् ।
कामदारले आफ्नो कामको सिलसिलामा सधैं होसियार भएर आफू सुरक्षित रहनेतर्फ सोच्नु पर्छ । अरुलाई पनि सावधान हुन सतर्क गराउनुपर्छ ।
घाउ-चोट लाग्दा प्राथमिक उपचार गर्ने तरिकाहरू जान्नु पर्छ । यस्तो सीप भएमा जिन्दगीभर आवश्यकता पर्दा काम लाग्छ ।
सामान्य प्राथमिक उपचार, आवश्यक औषधिको ज्ञान र बिधिहरु जान्नुपर्छ ।
पछिल्लो समय युटुवबाट पनि यस्ता कुराहरु सजिलै सिक्न सकिन्छ । आफूलाई फुर्सदको समयमा यस्ता काम लाग्दा ज्ञानहरु लिनु आफ्नै लागि फाइदा हुन्छ ।
वैदेशिक रोजगारमा जाने मानिसहरूलाई अरूले मोज गर्न र पैसा कमाउन गएको ठान्छन् । भाग्यमानी रहेछ, अब सुख पाउने भयो भन्ने उनीहरूको सोच हुन्छ । तर रोजगारदाताले त्यति सजिलो काम दिने वा त्यसै बसेर खान दिने होइन । काम गर्न गएपछि पैसा त कमिन्छ नै, दुःख पनि धेरै गर्नुपर्छ । पैसा कमाउने प्रलोभनमा रोजगारमा जानेले जुनसुकै काममा सम्झौता गर्नु चाहिँ हुँदैन । दुर्घटनाको धेरै सम्भावना हुने र जानाजानी रोग निम्त्याउने कामहरूले जीन्दगी वर्वाद पार्न सक्छन् । सम्झौता गर्दा कामको प्रकृति र प्रकार हेरेर कम जोखिम भएका काममा मात्र जानु पर्छ भन्ने सोच राख्नु अनिवार्य हुन्छ । यसका लागि कुन-कुन काम जोखिमपूर्ण हुन् र कुन-कुनले रोग निम्त्याउने प्रवल सम्भावना छ भन्ने कुरा रोजगारमा जानेले थाहा पाउनु अत्यावश्यक हुन्छ ।
-
Something went wrong.